प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

तिलोत्तमाका सामुदायिक वन : दीगो व्यवस्थापन र वातावरणीय सुरक्षा

तिलोत्तमा – तिलोत्तमा नगरपालिकाका सामुदायिक वनहरुले वनको दीगो व्यवस्थापन गर्दै वातावरणीय सुरक्षालाई कायम राखेका छन् । रुपन्देही जिल्लामा करिब ११० विभिन्न प्रकारका वनहरु छन् । तीमध्ये तिलोत्तमा नगरपालिकामा ९ वटा सामुदायिक वन छन् । नगरपालिकामा शंकरनगर, करहिया, कालिका, सुखौरा, आनन्दवन मधुवन, जमुनाघाट र समैया गरी ९ सामुदायिक वन छन् । जुन वनहरु दिगो व्यवस्थापनको योजनाका साथ अघि बढेका छन् ।
५८४.६० हेक्टर क्षेत्रफल फैलिएको शंकरनगर सामुदायिक वन एक नमुना वनको रुपमा स्थापित भैसकेको छ । यो वन मातहत रहेको वनबाटिकाले पर्यापर्यटन मार्फत धेरैलाई रोजगारीमा जोडेको छ भने नेपालमै एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित भैसकेको छ ।

बिज्ञापन

वनको दिगो व्यवस्थापनले वन जंगलमा आश्रित मानव जीवन साथै समग्रमा पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत गरेको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेत बताउनुहुन्छ । ‘वनको दिगो व्यवस्थापनअन्तर्गत बोटबिरुवा उमार्ने, रोपण गर्ने, गोडमेल, काट्छाट, हुर्काउने र उमेर पुगेका रुखहरुलाई कटान गर्ने काम पर्दछन्’–अध्यक्ष बस्नेत भन्नुहुन्छ । अध्यक्ष बस्नेतले हाल वनको दिगो व्यवस्थापन प्रणालीको नाममा मात्र केही फरक भएको बताउनुभयो । ‘हाल वन सम्वर्द्धन प्रणाली भनेर आएको छ, तर काम र प्रक्रिया सबै एउटै हुन्छ , नाम मात्र फरक भएको हो’–उहाँले भन्नुभयो–‘वनमा रहेका विभिन्न प्रकारका बोटविरुवाकै माध्यमबाट वातावरणमा आवश्यक अक्सिजन प्राप्त हुने र जीवका लागि अनावश्यक कार्वनडाइअक्साइड सोस्ने भएकाले जीवलाई जीवनयापनमा सहज हुन्छ । त्यसैगरी जीवजन्तुको बासस्थान र आहारका लागि वन महत्ववपूर्ण बनेको छ ।’

बिज्ञापन

यहाँका स्थानीय बासिन्दाहरूका लागि सामुदायिक वन आयआर्जनको स्रोत पनि बनेको छ । घाँस, दाउरा, काठ, जडीबुटी तथा अन्य वनजन्य उत्पादनबाट उनीहरूले आर्थिक लाभ लिँदै आएका छन् । यसले ग्रामीण जीवनस्तर सुधार गर्न सहयोग पु¥याएको वनका उपाध्यक्ष कमला ज्ञवालीको भनाइ छ । साथै, वनबाट प्राप्त आम्दानी सामाजिक विकासका कार्यक्रमहरूमा समेत लगानी भइरहेको वन समितिले जनाएको छ । वनले वन संरक्षण र उपभोगका लागि महिला उपसमिति बनाएर महिलाहरुको सक्रियतामा वन संरक्षण गरिरहेको वनका उपाध्यक्ष ज्ञवालीको भनाइ छ । शंकरनगर सामुदायिक वनले हरियाली , शान्ति , सिमाना र मध्यवर्ती गरि ४ वटा वन संरक्षण महिला उप समितिमार्फत महिलाहरूलाई सक्रिय बनाएर वन संरक्षण गरिरहेको ज्ञवालीले बताउनुभयो ।

बिज्ञापन

उता १५४.५ हेक्टर क्षेत्रफलमा फैलिएको बाउन्नकोटी सामुदायिक वनले बोटविरुवा लगाउनेदेखि कटानसम्मको काम वैज्ञानिक तरिकाले गर्दै आएको बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तारा छन्त्यालले बताउनुभयो ।ओमसतिया गाउँपालिका, सियारी गाउँपालिकासमेतको केही क्षेत्र ओगटेको वनमा तिलोत्तमा नगरपालिकाको सबैभन्दा बढी क्षेत्र रहेको छ । वनको विकास संरक्षण र सम्वर्द्धन लागि तिलोत्तमा नगरपालिकाबाट प्रत्येक वर्ष बजेट प्रदान गर्ने गरेको अध्यक्ष छन्त्यालको भनाइ छ । यस वनमा बढी मात्रामा टिक,सिसौ,जामुनजस्ता रुखहरु रहेको अध्यक्ष छन्त्यालले बताउनुभयो । वनले खाली ठाउँमा बोटविरुवा रोप्नेदेखि अनावश्यक रुखहरु काट्ने काम वर्षेनी गरिरहेको छ । त्यस्तै अनावश्यक झाडी सफा गर्नेजस्ता काम निरन्तर गरेको अध्यक्ष छन्त्यालको भनाइ छ । अध्यक्ष छन्त्याल भन्नुहुन्छ–‘बाक्लो भएको ठाउँ कटान मुछानअन्तर्गत काटछाट गर्छौँ ।’ तिलोत्तमा नगरपालिकाअन्तर्गत करहिया सामुदायिक वन २७९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यस वनले ढलापडा सुख्खड खडा रुखहरु काटछांट गर्दै वनमा आवश्यक बिरुवा वर्षेनी लगाउने गरेको छ । वनमा गत वर्ष २ हेक्टरमा २४०० विभिन्न प्रजातिका बिरुवा लगाइएको थियो भने यस वर्ष ४ हेक्टर क्षेत्रफलमा ६२०० बिरुवा लगाइएको करहिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिलाल पाण्डेले बताउनुभयो । वनमा टिक, जामुन , सफेदाका बिरुवा लगाइएको अध्यक्ष पाण्डेको भनाइ छ । ‘सव डिभिजन वन कार्यालय रामनगर बुटवलको सिफारिस र डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीको आदेशमा वनमा विभिन्न क्रियाकलाप गरिएको छ’– पाण्डेले भन्नुभयो । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक वनहरूले स्थानीय वातावरण संरक्षण मात्र होइन, जनजीवन सुधारमा समेत महत्वपूर्ण भूमिका खेलेका छन् र पछिल्ला वर्षहरूमा सामुदायिक वन उपभोक्ता समूहहरूको सक्रियताले वनको दिगो व्यवस्थापन सम्भव भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
‘सामुदायिक वन व्यवस्थापनको मुख्य उद्देश्य वन स्रोतको संरक्षण गर्दै त्यसबाट दीर्घकालीन लाभ लिनु हो’–पाण्डेले भन्नुभयो ।

विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूले नियमित रूपमा वृक्षारोपण, अवैध कटानी नियन्त्रण, र वनको निगरानी गर्दै आएका र यसले वन क्षेत्र विस्तार हुनुका साथै जैविक विविधताको संरक्षणमा टेवा पुगेको सव डिभिजन वन कार्यालय रामनगर बुटवलका वरिष्ठ वन अधिकृत सिद्धान्त बरालले बताउनुभयो । ‘वनले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। यसले कार्वन अवशोषण गरी जलवायु परिवर्तनको असर कम गर्न मद्दत गर्छ। साथै, वन क्षेत्रले हावाको गुणस्तर सुधार, माटो कटान नियन्त्रण, र जलस्रोत संरक्षणमा समेत योगदान पु¥याएको छ’–बरालले भन्नुभयो ।

तिलोत्तमामा सामुदायिक वनहरूको राम्रो व्यवस्थापनका कारण हरियाली बढ्दै गएको, वन संरक्षण गरेपश्चात वनमा जीवजन्तूको संख्यामा वृद्धि भएको र एक दशकअघि शंकरनगर सामुदायिक वनको वनबाटिकाबाट पूर्वपश्चिम महेन्द्र राजमार्ग स्पष्ट देखिने अवस्था अहिले परिवर्तन भएको तिलोत्तमा १ का वडा अध्यक्ष फर्सुराम गिरी बताउनुहुन्छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले वन क्षेत्र प्रदेश सरकार मातहत रहे पनि तिलोत्तमा नगरपालिकाभित्र रहेका वनहरुको विकास, संरक्षण र सम्वर्द्धन लागि नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरिरहेको बताउनुभयो । प्रमुख खाँणले वनको संरक्षणका लागि तारजालीलगायतमा सहजीकरण गरिरहेको बताउनुभयो । ‘वनको आम्दानी बढाउने, उपभोक्तालाई उत्पादनसँग जोड्नका लागि नगरपालिका सधै वनको विकास र संरक्षणप्रति प्रतिवद्ध छ’–प्रमुख खाँण भन्नुहुन्छ–‘तिलोत्तमाका सामुदायिक वनहरू दिगो व्यवस्थापन र वातावरणीय सुरक्षाका दृष्टिले उत्कृष्ट उदाहरणका रूपमा उभिएका छन्, स्थानीय समुदायको सक्रिय सहभागिता र जिम्मेवारीबोधले मात्र वन संरक्षण सम्भव भएको छ । आगामी दिनमा पनि यस्ता प्रयासहरू निरन्तर रहेमा वातावरण संरक्षण र समृद्धिको मार्ग अझ मजबुत हुने अपेक्षा छ ।’

प्रकशित मिति : ४ बैशाख २०८३, शुक्रबार १८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै
नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु
आज सुनचाँदीको भाउ घट्यो
ताजा खबर
देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै