काठमाण्डौ ,सरकारले भोलि र पर्सि थापाथलीमा क्षेत्रको नदी अतिक्रमित बस्ती हटाउने तयारी गरेपछि त्यसको विरोध भइरहेको छ । अधिकारकर्मीसँगै विभिन्न दल र नवयुवाहरूले समेत सुकुम्वासी बस्ती हटाउने तयारीको विरोध गरेका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति निकालेर सुकुम्वासी बस्तीहरू भत्काउने सरकारको कदमप्रति खेद प्रकट गर्नुभएको छ । यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै उहाँले यस्ता गतिविधि रोक्न माग गर्नुभएको छ ।
उचित क्षतिपूर्तिसहित पुनर्वास र व्यवस्थापन गरेर मात्र अघि बढ्न सरकारलाई श्रम संस्कृति पार्टीको सुझाव छ । यस्तै नवयुवा अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमा लेखेर सरकारको तयारीको विरोध गर्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गर्दै उहाँले वर्षौँदेखि सुकुम्वासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरूभन्दा तपाईँहरू के फरक हुनुभयो भन्ने प्रश्न गर्नुभएको छ ।
सामाजिक सञ्जालमा पनि वैकल्पिक व्यवस्था नगरी सुकुम्वासीलाई जबरजस्ती हटाउन नहुने माग बढिरहेको छ । प्रहरीले हिजो बेलुकादेखि नै माइकिङ गरेर अतिक्रमित बस्तीबाट अन्यत्र सर्न अनुरोध गरिरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले भोलि बिहान ६ बजेदेखि क्षेत्र खाली गरिने भन्दै त्यसअघि नै बस्ती छाड्न आग्रह गरेको हो ।
सरकारले बस्ती हटाएर त्यहाँका मानिसलाई होटलमा राखी पहिचान प्रक्रिया शुरु गर्ने तयारी गरेको छ ।