बुटवल,महिला उद्यम प्रवर्द्धन गर्ने उद्देश्यका साथ बुटवलमा ३० दिने ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु भएको छ।बुटवल उप महानगरपालिका १७ रानिगन्जमा मोतिपुर मगर महिला समूहको आयोजनामा सञ्चालन भएको उक्त तालिम बैशाख ६ गतेबाट सुरु भई जेठ ४ गतेसम्म सञ्चालन हुनेछ। रानिगन्जमा मगर महिला समूहको भवनमा सञ्चालन भइरहेको तालिम बुटवल उपमहानगरपालिकाको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा सञ्चालन भएको हो।तालिममा २२ जना महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले सीपमूलक तालिम लिएर त्यसलाई आयआर्जनसँग नजोड्नेहरुलाई आगामी दिनमा बजेट नदिने नीति लिइएको बताउनुभयो। उहाँले सीपलाई व्यवहारमा उतारेर निरन्तरता दिने समूह तथा व्यक्तिलाई मात्र प्रोत्साहन गरिने स्पष्ट पार्नुभयो। साथै महिलाहरू घरायसी काममा मात्र सीमित नभई घरमै बसेर पनि आम्दानी गर्न सक्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि वडा नं १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मीले यस्ता तालिमले महिलालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो।
मोतिपुर मगर महिला समूहका अध्यक्ष हिम कुमारी थापाले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले ढाका बुन्ने जस्ता परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्न सके महिलाहरू आत्मनिर्भर बन्ने धारणा व्यक्त गर्नुभयो। साथै तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै आयआर्जनमा रूपान्तरण गर्न सहभागीलाई आग्रह गर्नुभयो।
ढाका तालिमका प्रशिक्षक केसरी मगरले ढाका बुन्ने कला मगर समुदायको मात्र नभई समग्र नेपाली परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताउनुभयो। उहाँले ढाका केवल कपडा होइन, यो हाम्रो पहिचान, इतिहास र संस्कृतिको प्रतीक भएको उल्लेख गर्नुभयो।
उहाँले यस्ता तालिमले परम्परागत सीप संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, ढाका बुन्ने सीपलाई आधुनिक बजारसँग जोडेर मगर महिलाहरूले आफ्नो सांस्कृतिक पहिचान जोगाउँदै आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने धारणा राख्नुभयो।
मोतिपुर मगर महिला संघका सल्लाहकार चन्द्र बहादुर थापा ले विगतदेखि नै संघले विभिन्न सामाजिक तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।कार्यक्रममा स्वागत मन्तव्य सह (सचिव लिला रासकोटिले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सुनिता राजकोटीले गर्नुभएको थियो। कार्यक्रममा सस्थाका सदस्य तथा प्रशिक्षार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।