रुपन्देही – पूर्ववर्ती सरकारद्वारा गठित भूमि समस्या समाधान आयोग खारेजप्रति अखिल नेपाल किसान महासंघ रुपन्देहीले आपत्ति जनाएको छ । सरकार आयोग खारेज गरेर भूमिहीन , सुकुम्बासी , अव्यवस्थित बसोबासी , श्रमजीवी गरिब जनताको हकअधिकार कुण्ठित गर्न उद्धत भएको भन्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेमार्फत किसान महासंघले प्रधानमन्त्री शुशिला कार्कीलाई ज्ञापनपत्र बुझाएको हो । अन्तरिम सरकारले गरेको यो निर्णय मानवअधिकार प्रतिकूल हुने गरी अचानक गरिएको गैरजिम्मेवारपूर्ण रहेको भन्दै आयोगको पूनर्स्थापनाका लागि महासंघले जोडदार माग गरेको छ । अन्यथा उत्पन्न हुने जटिल परिस्थितिको जिम्मेवार स्वयम अन्तरिम सरकार नै हुनुपर्ने महासंघले चेतावनीसमेत दिएको छ ।
भूमि आयोगले सम्बन्धित नागरिकका लागि काम गरिरहेको अवस्थामा अन्तरिम सरकारले आयोग खारेज गरेको भन्दै किसान महासंघले घोर भ्रतसना गरेको छ ।

“भूमिहीन अव्यवस्थित बसोबासी र सुकुम्बासी समुदायको पहिचान तथा दर्ता कार्य शीघ्र सम्पन्न गरी जग्गा वितरण प्रक्रिया निष्पक्षरुपमा अगाडि बढाउनु अहिलेको ज्वलन्त आवश्यकता हो । बल प्रयोग र उठाइएका सुकुम्बासी परिवारहरुलाई तत्काल पुनर्स्थापित गरी न्याय सुनिश्चित गर्नु सम्बन्धित निकायको दायित्व हो । साथै जग्गा तथा आवास सम्बन्धि निर्णयमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नु राज्यको दायित्वसमेत हो । तर समस्या समाधानका लागि प्रदान गरिएको कार्यदेशको आधारमा प्रभावकारी ढंगले कार्य गरिरहेको आयोग नै विघटन गर्न पुग्नु दुर्भाग्यपूर्ण विषय हो ।” विज्ञप्तिमा भनिएको छ । “त्यसैले कृषि क्षेत्रमा रुपान्तरण गर्नुपर्छ भनेर आन्दोलन गरिरहेका किसानका हकहित तथा अधिकार प्राप्तिको अभियानमा उल्लेख्य योगदान गरेका देशका जिम्मेवार हामी अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनको तर्फबाट पूर्वाग्रही र अपरिपक्व ढंगले खारेज गरिएको भूमि समस्या समाधान आयोगको पूनर्स्थापनाको निम्ति प्रमुख जिल्ला अधिकारी ज्यू मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन आएका हौँ । हाम्रो सदासयतालाई कमजोरी ठानेर बेवास्ता गरिएको खण्डमा खारेज गरिएको भूमि समस्या समाधान आयोगको पूनर्स्थापनाका लागि आन्दोलनका थप कार्यक्रम अगाडि सार्न हामी बाध्य हुनेछौँ ” । किसान महासंघ रुपन्देही अध्यक्ष कृष्णप्रसाद खरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
कार्यक्रममा नेकपा एमाले रुपन्देही उपाध्यक्ष हितराज पन्थी , अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य ऋसव पोखरेल , महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरी , सदस्य पुष्करनाथ पन्थ , रुपन्देही जिल्ला इन्चार्ज कृष्ण पन्थी , रुपन्देही जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरेल , उपाध्यक्ष टेकप्रसाद अर्याल, जिल्ला उप सचिव चन्दा थापा , किसान महासंघका सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा ज्ञापनपत्र वाचन गरि प्रमुख जिल्ला अधिकारी पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।