काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला घाम लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अरु ठाउँमा आंशिक बदली हुनेछ ।
गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँ तथा अरु प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकरदुई ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो तराईका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने तथा अरु प्रदेशका पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।