तिलोत्तमा – टोल उज्यालो अभियानअन्तर्गत जागृति टोल विकास संस्थाले देउसी भैलो खेलेको छ । नेपालीहरूको दोस्रो ठूलो पर्व दिपावलीको अवसरमा संस्कृति संरक्षण गर्दै टोल उज्यालो अभियानमा टोल विकास संस्था जुटेको हो । गाई तिहारको दिन एक दिन भएपनि रमाइलो र टोलका सबै स्थानीयलाई जुटाएर देउसी भैलो खेलिएको हो ।
तिलोत्तमा नगरपालिकाको वडा नम्बर २ को सो टोल विकास संस्था नगरपालिकाबाट उत्कृष्ट टोलको रुपमा समेत पुरस्कृत भइसकेको टोल विकास अध्यक्ष डोर बहादुर पुनले बताउनुभयो । टोलका साना साना नानी बाबुहरुसमेत देउसी भैलोमा सहभागी भएको उपाध्यक्ष वीर बहादुर पुनले बताउनुभयो ।

टोलका विभिन्न स्थानमा खेलिएको देउसी भैलो कार्यक्रम नेपाली पहिचान झल्किने भेषभूषा र नेपाली मौलिक गीतहरुमा नृत्य गरिएको थियो । नगरको पहिलो टोल विकास संस्थाको रुपमा चिनिएको संस्थाले अन्य समय विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको सचिव इन्द्र मणि अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका कार्य समिति सदस्यहरु , सम्पूर्ण टोलबासीहरको उल्लेख सहभागिता रहेको कार्यक्रमको सञ्चालन सहसचिव शोभाखर पाण्डेले गर्नुभएको थियोे । देउसी भैलोबाट संकलन भएको रकमबाट टोलका सडकहरु उज्यालो बनाइने संस्थाले जनाएको छ ।