रूपन्देही – तिलोत्तमामा युवाहरूले प्राङ्गारिक मलको उत्पादन सुरु गरेका छन् । यो मल जैको नामबाट बजारमा आएको छ । हेर्दा आकर्षक प्याकेट बनाइएको छ। झट्ट हेर्दा कुनै खानेकुराको प्याकेट जस्तो लाग्छ । कसैले पनि मल नै हो भनेर भन्न गाह्रो पर्ने यसको प्याकेजिङ छ । सबैको सहजताका लागि यो एक केजीको पाउचमा सञ्चालकहरुले बजारमा ल्याएका हुन् । हेक्टर र बिगाहामा खेती गर्ने किसानदेखि लिएर गमलाको फूलको लागि यो मल सजिलै प्राप्त गरी प्रयोग गर्न सकिन्छ ।
रुपन्देहीका करिब २० युवाहरु मिलेर मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै विशुद्ध प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन् । जसलाई नेपाल वायो कम्पोस्ट नामक कम्पनीले बजारमा ल्याएको हो। पछिल्लो समय रसायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्य र माटोको उर्वरा शक्तिलाई खराब गरिरहेको अवस्थामा जोसिला युवाहरूको सक्रियतामा मलको उत्पादन सुरु भएको हो । मलको प्रयोगले विस्तारै माटोको गुणस्तरमा सुधार ल्याउन सकिने उदेश्यले मल उत्पादनमा सक्रिय बनेको कम्पनीका सदस्य राहुल पन्थी बताउँछन् । पन्थी भन्छन् – ” यसका लागि अहिलेसम्म ३ करोड रकम लगानी गरिसक्यौँ । अब भने विस्तारै प्रतिफल चाहान्छौँ । ”
रसायनिक मलको व्यापक प्रयोगले माटोको अवस्था जीर्ण बनिरहेको छ । हरेक व्यक्तिले जानी-जानी रसायनिक मलको प्रयोग गरिरहेका छन् । यसले माटो , मानव स्वास्थ्य मात्र नभई वातावरणमा भएका समग्र जीवजन्तूलाई नै असर गरिरहेको छ । फलस्वरूप पारिस्थितिक प्रणाली नै प्रभावित भएर त्यसको असर वातावरणका सम्पूर्ण जीवले भोगिरहेका छन् ।
यस्तो अवस्थामा जैको नामक यो प्राङ्गारिक मलको उत्पादन हुनुले मानवसँगै सम्पूर्ण जीवजन्तू र माटोले नयाँ जीवन प्राप्त गर्ने युवाहरूको आशा छ । तर दिनानुदिन रसायनिक मलका प्रयोगकर्ता बढिरहेको र छिट्टै उत्पादन गर्ने र बढी प्रतिफल चाहानेका लागि यो सोचको विषयभन्दा बाहिर छ । मल उत्पादनकर्तालाई यो बडो चुनौतिको विषय बनेको छ।
पछिल्लो समय जो कोहीले पनि नितान्त आफ्नै फाइदाको लागि मात्र व्यवसाय गर्छन्। मानव स्वास्थ्यको कत्तिपनि ख्यालै नगरी अखाद्य वस्तुको बढी मिश्रण गरी खान योग्य नभएको वस्तु उत्पादन गर्छन् । यस्ता उदाहरण पछिल्लो समय धेरै देखिने गरेको छ । तर यस्तो अवस्थामा वातावरण र मानव स्वास्थ्यलाई प्रमुख ठानेर प्राकृतिक तरिकाले मल उत्पादन गर्नु ज्यादै राम्रो पक्ष हो।
के हो जैको मल ?
यो मल एक प्रकारको सतप्रतिशत प्राङ्गारिक मल हो । माटोको लागि अति महत्त्वपूर्ण रहेको यो मल प्राकृतिक तरिकाले बनेको कम्पनीका कोषाध्यक्ष शुरेन्द्र कुमार गौतमले बताए ।
यसमा गाईभैँसीको गोबर , वनजङ्गलका अनावश्यक झारपात (औषधीय गुणहरू भरिपूर्ण ), विभिन्न बालीका अनावश्यक झारपात कुवाएर प्राकृतिक तरिकाले मल उत्पादन गरिन्छ। यसमा पर्याप्त मात्रामा नाइट्रोजन , फोस्फरस , पोटासियम (एनपिके) , र बिरुवाको वृद्धि विकासका लागि आवश्यक धेरै सूक्ष्म पोषक तत्वहरु पाइन्छन् । जसले गर्दा बिरुवाको वृद्धि विकास राम्रो भई उत्पादन पनि राम्रो दिन्छ । यसले माटोको गुणस्तर सुधार पनि गर्दछ। यो गन्धरहित पर्यावरणमैत्री र विषादीरहित रहेको माटो विज्ञ तथा नेपाल वायो कम्पोस्टका उपाध्यक्ष लोकेन्द्र घर्ती मगरले बताए । उनका अनुसार फूलहरूको लागि प्रयोग गर्दा प्रति बोट बिरुवामा २०० ग्राम यो मल आवश्यक पर्छ। त्यसैगरी फलफूलका लागि प्रति बोट बिरुवा एक केजी मलको आवश्यक हुन्छ। भने तरकारीका लागि प्रति बोट बिरुवा २०० ग्राम आवश्यक रहन्छ। कम्पनीका उपाध्यक्ष तथा विज्ञ पुनले प्रयोग भएको प्याकेटलाई बन्द गरी सूर्यको प्रकाश र चिसोबाट टाढा राख्न सुझाव दिन्छन् ।
जैको मलका फाइदाहरू
यो मलमा भएका खाद्य तत्त्वहरू पानीमा घुलनशील हुन्छन् र बिरुवाले यसमा भएका खाद्य तत्त्वलाई सजिलैसँग प्राप्त गर्छन् । यो मलमा भिटामिन हर्मोनका साथै माटो र बिरुवाका लागि चाहिने अति आवश्यक पोषक तत्त्व र जैविक गतिविधिहरु बढाउने सूक्ष्म जीवहरु पर्याप्त मात्रामा हुने भएकाले अरु मलभन्दा यो मलको गुणस्तर राम्रो हुन्छ। औषधीय गुण भएका पातपतिङ्गर फोहर वस्तुहरूबाट यो मल बनाइने भएकाले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्छ। यो मनले बिरुवाको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। जसले गर्दा बिरुवाको उत्पादन क्षमता वृद्धि हुन्छ। यो मलले माटोको गुणस्तरमा सुधार ल्याउनुका साथै माटो क्षयीकरण हुनबाट जोगाउने विज्ञ घर्ती मगरको भनाइ छ ।
कम्पनीले हाल दैनिक डेढ टन बराबरको मल उत्पादन गरिरहेको सदस्य शान्ति मगर बताउँछिन् । तर सुरुवाती चरण भएकाले चाहेअनुसार भने कम्पनीले मल बजारमा पुर्याउन सकेको छैन् । विशेषगरी सिजनमा बढी बिक्री हुने अध्यक्ष यम बहादुर थापाले बताए । जैको मल रुपन्देहीसँगै पाल्पा , कपिलवस्तु , गुल्मी , नवलपरासी र स्याङ्जामा खपत हुने गरेको अध्यक्ष थापा बताउँछन् ।