बिरामीको चाप बढी , दरबन्दी कम , चिकित्सकलाई हम्मेहम्मे
बुटवल – बुटवल ९ कि ३६ वर्षिय ललिता भुसाल ढाडको नसा च्यापिएको समस्याले विगत २ वर्षदेखि ग्रस्त थिइन् । उनी उपचारका लागि बुटवलका विभिन्न अस्पताल र काठमाडौ पनि पुगिन् । महिनौँसम्म बसेर उपचार गरिन् । तर उनलाई कहि कतै २० को १९ पनि भएन् । तर जब पछिल्लो समय उनले लुम्बिनी आयुर्वेद चिकित्सालयको बारेमा थाहा पाइन् । उपचारका लागि उनी त्यहीँ पुगिन् । करिब एक हप्ता अस्पतालमै बसेर उपचार गरिन् । अहिले उनलाई आराम मिलेको बताउँछिन् । उनी भन्छिन् -” अन्यत्र समय र पैसा दुवै खर्च भयो । तर यहाँ आइसकेपछि शरीर झमझमाउने र दुख्ने समस्या हट्दै गएको छ । यहाँ हरेक प्रकारका रोगहरुको उपचार हुने रहेछ । जडीबुटीयुक्त तेलद्वारा उपचार हुने रहेछ । ” उनले अब केहि दिनपछि फेरि उपचारको लागि अस्पताल जाने बताइन् ।
यता तिलोत्तमा १ कि पदमकुमारी पन्थ विगत २ वर्षअघिबाट निरन्तर खोकीले ग्रस्त थिइन् । ७३ वर्षकी उनी जब बोल्न थाल्यो खोकी लागि हाल्थ्यो । जब केही खानेकुरा खान थाल्यो खोकी लागेर सकसै हुन्थ्यो । त्यसको उपचारको लागि बुटवल र चितवनलगायतका विभिन्न स्थान चहारेर बसेकी उनी पछिल्लो ३ महिनादेखि बुटवल ११ मा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा जान थालेकी छन् । उनको पनि त्यहाँ उपचारपछि खोकी आधा सन्चो भएको बताउँछिन् । अहिले त्यहाँको उपचार र औषधिले उनलाई धेरै राहत मिलेको उनको भनाइ छ ।
यता बुटवल ११ कालिका नगरकी ४९ वर्षिय अमृता पराजुली विगत ६ वर्षदेखि निन्द्रा नलाग्ने समस्याबाट ग्रसित थिइन् । उनी दिनमा अत्यन्तै व्यस्त भएपनि रातिमा निदाउनै सक्दिनथिइन् । उपचारको लागि बुटवल र काठमाडौ पनि गएको तर कहिँ पनि उनको समस्या समाधान हुन सकेन । रातिमा निन्द्रा नलाग्दा ६ वर्षको अवधिमा सधैँ औषधि खाएर सुत्नुपर्ने बाध्यता उनलाई थियो । औषधि खाएपछि बल्ल निदाउँथिइन् उनी । उनी भन्छिन् -” न त दिनमा नै निन्द्रा लाग्थ्यो । निन्द्राका लागि सुरुमा १५० एमजीसम्म औषधि खान्थेँ । तर अहिले म जब लुम्बिनी आयुर्वेद औषधालय आएँ पाँच दिन भयो । मलाई केही राहत मिलेको छ । ” अहिले अमृताले खाइरहने औषधि ७५ एमजीमा झरेको छ ।
सबैतिर चहारेकी उनी सो अस्पतालमा शिरोधारा पद्धतिबाट टाउकाको उपचार गराइरहेकी छन् । यो पद्धति टाउकोमा विभिन्न जडिबुटीयुक्त तेल खन्याएर गरिन्छ ।
शिरोधारा एउटा स्थापित आयुर्वेदिक पद्धति हो। यसमा ब्राह्मी, शंखपुस्पी, जटामांसी, यस्टीमधु जस्ता औषधियुक्त तेल वा अन्य औषधियुक्त झोललाई निरन्तर धाराका रुपमा निश्चित समयसम्म निधारमा प्रवाह गरिन्छ। विशेष गरेर मनतातो औषधियुक्त तिलको तेल, दूध, तक्र ९मोही० आदि विभिन्न अवस्थाअनुसार प्रयोग गरिन्छ।
शिरोधाराले एकसाथ धेरै कार्य गर्छ। शिरोधारा निधारको बीचमा दिइन्छ। यो तेस्रो नेत्रको स्थान हो र यसलाई ज्ञानको केन्द्र पनि भनिन्छ। तसर्थ यसले ज्ञानको क्षेत्र फराकिलो बनाउन तथा स्मृतिसम्पन्न बनाउन मद्दत गर्छ। यसले शिरमा कमी रहेका तत्वहरुको पोषण गर्नुका साथै मस्तिष्कका केन्द्र तथा ग्रन्थीलाई सक्रिय पारी शरीरलाई सन्तुलित र स्वस्थ राख्छ। यति मात्र होइन, शान्त वातावरणमा निरन्तर स्निग्ध धारा प्रवाहले मनलाई शान्त गर्ने र आनन्दको अनुभूति दिलाउने अस्पतालका आयुर्वेद चिकित्सक योगेश ढकाल बताउँछन् ।
यस्तै बुटवल ११ देवीनगरकै सीता देवी विश्वकर्मा हातको औँला दुखेर हैरान थिइन् । विगत २/३ महिनादेखि दुखाई सहिरहेकी उनी पाँच दिनअघि सो अस्पतालमा पुगिन् र उपचार गराइरहेकी छन् । उनको पनि दुखाइको समस्या केही समाधान हुँदै गएको छ ।
तनहुँ जिल्ला रानी पोखरी गाउँपालिका १ का जंग बहादुर श्रेष्ठ हाल बुटवल ११ मा बसोबास गर्छन् । उनले अस्पतालको बारेमा कतैबाट जानकारी पाएर सो अस्पतालमा पुगे । रुखबाट खसेर ८ वर्षअघिबाट ढाड दुख्ने समस्या झेलिरहेका उनी एक महिना अघि अस्पतालमा पुगे । अहिले उनलाई निको हुँदैछ । ” एक हप्तासम्म लगातार थेरापी गरेँ । अब फेरि थेरापी गर्नुपर्छ । जे होस् शरीरलाई आराम पुगेको छ । ” उनको भनाइ हो यो ।
अर्घाखाँची सन्धिखर्क ११ हाल तिलोत्तमा १ बाट सीता पोखरेल पनि उपचारका लागि त्यहाँ पुगेकी बिरामी हुन् ।
उनी नयाँ बिरामीका रुपमा त्यहाँ पुगेकी छन् ।
बुटवल १३ कि जया थापा ३ वर्षदेखि घुँडाको समस्या झेल्दै आएकी थिइन् । त्यहाँ उपचार गरि निको भएकाहरुबाट अस्पतालको बारेमा थाहा पाएपछि जया पनि त्यहीँ पुगेकी हुन् ।
बुटवल ११ कि इन्द्रा कुमारी बिकले पनि अरुका विभिन्न रोगहरु निको भएको थाहा पाएर त्यहाँ पुगेकी छन् । हात निरन्तर २ महिनादेखि दुखिरहेकाले सञ्चो हुने आशाले इन्द्रा कुमारी सो अस्पतालमा सेवा लिन पुगेकी नयाँ बिरामी हुन् ।
ललिता , पदम कुमारी , अमृतालगायथ माथिका पात्र केही उदाहरण मात्र हुन् । विभिन्न रोगले ग्रस्त भएका बिरामीहरु बुटवल ११ मा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा पुगेपछि निकै राहत भएको बताउँछन् । यो अस्पताल र अस्पतालले दिने सेवाप्रति पछिल्लो समय नेपालीसँगै भारतीय नागरिकको समेत विश्वास बढ्दै गएको पाइन्छ । दिनप्रतिदिन यस अस्पतालमा विभिन्न रोगका बिरामीहरु
पुग्ने र उपचार सेवा लिने गरेको अस्पतालले जनाएको छ। यो अस्पतालमा विशेषगरी रुपन्देही जिल्लाका बिरामी धेरै जाने गर्छन् भने लुम्बिनी प्रदेशभरका जिल्ला साथै प्रदेश बाहिरका बिरामीले पनि सेवा लिएको अस्पतालको भनाइ छ ।
आर्थिक वर्ष ८०र८१ मा कूल ४०७८५ बिरामीले सेवा लिएको अस्पतालको तथ्यांकमा छ । यसमध्ये २२३२७ पुरुष थिए भने १८४५८ सेवा लिएका महिलाको संख्या हो । यहाँ २ वटा ओपिडिबाट दैनिक ४० देखि १६० जनासम्म बिरामीले सेवा लिने गरेका छन् भने थेरापीतर्फ ३० जनाले सेवा लिने गरेको अस्पतालले जनाएको छ ।
त्यसैगरी यहाँ नेपाल भारत सिमावर्ती क्षेत्रका साथै लखनउबाट समेत भारतीय नागरिकले यस अस्पतालबाट उपचार सेवा लिएका छन् । जसमध्ये विगत एक वर्षको अवधिमा उपचार गराएका भारतीय बिरामीको जम्मा संख्या १५१ रहेको छ । त्यसमध्ये ओपिडीबाट ११३ जनाले सेवा लिएको अस्पतालका आयुर्वेद चिकित्सक योगेश ढकालको भनाइ छ । जसमा महिलाहरुको संख्या ६४ र पुरुषको संख्या ४९ रहेको छ । त्यसैगरी भर्ना भएर उपचार गराएका ३८ भारतीय बिरामीहरुमा महिला २१ र पुरुष १७ रहेका छन् ।
अस्पतालको पृष्ठभूमि :
रुपन्देहीको बुटवल–११ मा रहेको १५ शैय्याको लुम्बिनी आयुर्वेद चिकित्सालयले परम्परागत आयुर्वेद उपचार पद्धतिमार्फत यस क्षेत्रको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। पञ्चकर्म विशेष अस्पतालका रुपमा चिनिने यो चिकित्सालय लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयअन्तर्गत सञ्चालित छ । २०४३ सालमा लुम्बिनी आयुर्वेद औषधालयको रूपमा स्थापना भएको यो संस्था २०७५ सालमा लुम्बिनी प्रदेश सरकारद्वारा नाम परिवर्तन गरी लुम्बिनी आयुर्वेद चिकित्सालय बनाइएको हो।
प्रदान गरिने सेवाहरु :
चिकित्सालयको प्रमुख सेवा बहिरङ्ग ९ओपिडी० हो। सार्वजनिक बिदाबाहेक दैनिक सञ्चालन हुने जनरल ओपिडीमा ग्यास्ट्राइटिस, हाडजोर्नी, मलद्वार, नाक–कान–घाँटी, छाला, महिनावारी तथा प्रजननसम्बन्धी समस्या र दीर्घ रोगका बिरामीहरू बढी आउने अस्पतालले जनाएको छ । हरेक हप्ताको शुक्रबार सञ्चालन हुने डायबिटिज तथा लाइफस्टाइल काउन्सिलिङ्ग ओपिडीमा मधुमेह, उच्च रक्तचाप, थाइरोइड डिसअर्डर, मानसिक समस्यालगायतका रोगहरूको आयुर्वेद विधिबाट उपचार र जीवनशैली परामर्श दिने गरेको छ ।
चिकित्सालयले पन्ध्र शैय्यायुक्त अन्तरङ्ग सेवा, प्रयोगशाला सेवा, ज्येष्ठ नागरिक सेवा, मातृ शिशु सेवा लगायतका विभिन्न सेवा न्यूनतम मूल्यमा उपलब्ध गराउँदै आएको छ । विशेष गरी मातृ शिशु सेवामा स्तनपान गराउने आमाहरूलाई दुग्धवर्धक औषधी वितरण कार्यक्रम उल्लेखनीय मानिएको छ । चिकित्सालयमा निःशुल्क फार्मेसी सेवासमेत उपलब्ध छ । जहाँबाट बिरामीहरुले औषधीहरू निस्शुल्क प्राप्त गर्न सक्छन् । यसले गर्दा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई धेरै राहत मिलेको स्वयम् बिरामीले बताउँछन् । बिरामीहरूलाई न्यूनतम बजार मूल्यमा आयुर्वेद औषधि प्रदान गर्नको लागि सस्शुल्क फार्मेसी सेवा पनि सञ्चालनमा छ । जसले सेवा पहुँचमा थप सहजता ल्याएको अस्पतालको दावी छ । अन्यत्र अस्पतालमा बालुवामा पानी खन्याउनु पर्ने बाध्यता भएका बिरामीलाई न्यूनतम शुल्क नै भएपनि खासै फरक नपर्ने बिरामी ललिता भुसालको भनाइ छ ।
चिकित्सालयको सेवा क्षेत्रको मुख्य आधार पञ्चकर्म इकाई हो। पञ्चकर्मअन्तर्गत शरीरको डिटोक्सिफिकेशन र दोष सन्तुलनका लागि गरिने एकाङ्ग स्नेहन, सर्वाङ्ग स्नेहन, पत्रपिण्ड स्वेदन, षष्टिकशाली पिण्ड स्वेदन, कटिरजानुरग्रीवा वस्ति, शिरोधारा, वमन, विरेचन, मात्रा वस्ति, अनुवासन वस्ति, नस्य कर्म, रक्तमोक्षण, जलौकावचरण, अग्निकर्म र नेत्र तर्पणजस्ता उपचारहरू उपलब्ध छन्। यी उपचारहरूमार्फत हाडजोर्नी रोग, बाथ रोग, सोरियासिस, पक्षघात, अटिजमलगायतका दीर्घकालीन रोगहरूको व्यवस्थापन गर्नको लागि रुपन्देही जिल्ला, छिमेकी जिल्लाहरू, देशका विभिन्न कुनाबाट र भारतबाट समेत बिरामीहरू भर्ना भएर उपचार गराउन आउने गरेको चिकित्सक सन्दीप कार्कीले बताए ।
न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा ७६.४ अंक प्राप्त गरेको यो अस्पतालमा वमन विरेचन पद्धति विशेष प्रभावकारी छ । यो २५ दिनको विशेष उपचार हो । यो पद्धतिमा वमन (उल्टि) शरीरभित्र सञ्चित भई रोग उत्पन्न गर्ने विकार पदार्थ तथा मललाई मुखबाट बान्ता गराइ बाहिर निकाल्ने क्रियालाई वमन भनिन्छ।
विरेचन शरीरभित्र विशेषत पेटमा सञ्चित भएका विकार पदार्थ, मल तथा अन्य फोहोर मैला आदिलाई औषधि पानीको प्रयोग गराई गुदामार्गबाट बाहिर निकाली पेट सफा गर्ने क्रियालाई विरेचन भनिन्छ। विरेचन क्रियामा रोगीको अवस्था हेरेर विभिन्न औषधि प्रयोग गर्न सकिन्छ। चिकित्सालयले न्यूनतम शुल्क प्रतिव्यक्ति रु २० मा टिकट उपलब्ध गराउँछ । साथै आर्थिक अवस्था अत्यन्तै कमजोरी भएका बिरामीलाई पनि वडाको सिफारिसमा निस् शुल्क उपचार गर्ने चिकित्सक कार्कीले बताए ।
आगामी योजना :
आगामी आर्थिक वर्षमा लुम्बिनी आयुर्वेद चिकित्सालयले ूस्वर्णबिन्दु प्राशन कार्यक्रमू सुरु गर्ने योजना लिएको छ। यसमा शुद्ध स्वर्ण भस्म, घ्यू, मह आदिको मिश्रणबाट बनाइएको औषधी नवजात शिशु देखि १६ वर्षसम्मका बच्चालाई दिइन्छ जसले रोग प्रतिरोधक क्षमता बढाउने, बच्चाको शारीरिक, मानसिक विकासमा टेवा पुर्याउने, पाचन सुधार्ने, स्मरण शक्ति वृद्धि गर्ने आदि फाइदाहरू पुर्याउँछ। यो सेवा आगामी आर्थिक वर्षदेखि हरेक महिनाको पुष्य नक्षत्रमा चिकित्सालयबाट निस्शुल्क लिन सकिनेछ ।
आयुर्वेदको मूल उद्देश्य रोग लाग्नु अघि नै स्वास्थ्यको रक्षा र प्रवर्द्धन गर्नु हो। लुम्बिनी आयुर्वेद चिकित्सालयले यसलाई आत्मसात् गर्दै रोग लागेपछि मात्र औषधि सेवन गर्नेभन्दा स्वास्थ्यलाई समग्र रूपमा हेरेर मानिसको जीवनशैली र मानसिक स्वास्थ्यमा समेत ध्यान दिन्छ।
अस्पतालका सामुदायिक स्वास्थ्य कार्यक्रम :
यसका लागि चिकित्सालयले अस्पतालभित्रका सेवाहरू बाहेक विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। स्वस्थ जीवनशैली प्रवर्द्धन, गृहिणीहरूका लागि भान्सा सुधार, विद्यालय शिक्षकहरूका लागि आयुर्वेद तथा योग अभिमुखीकरण, महिला तथा मातृ शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आयुर्वेद तथा योग ध्यान जस्ता कार्यक्रमहरू समुदायमा पुर्याइएका छन्।
त्यसै गरी, ज्येष्ठ नागरिक कार्यक्रम, सुत्केरी आमाहरूका लागि स्वास्थ्य जाँच, नागरिक आरोग्य केन्द्र घरदैलो कार्यक्रम, धन्वन्तरी दिवस तथा राष्ट्रिय आरोग्य दिवस समारोह, र विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रमहरू पनि नियमित रूपमा सञ्चालन भइरहेका छन्। हालै निःशुल्क फार्मेसी र अनलाइन व्यवस्थापन प्रणालीले सेवा प्रवाहमा थप सहजीकरण गरेको छ।
अस्पतालका समस्याहरु :
अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गए पनि जनशक्तिको चरम अभाव छ । अस्पतालले दिने सेवा दिनहुँ प्रभावकारी बन्दै जाँदा चिकित्सकलाई हम्मेहम्मे छ । २०४३ सालकै दरबन्दीअनुसार अस्पताल सञ्चालन भैरहनु बडो विडम्बनाको कुरा हो । २०४३ सालमा ७ जनाको दरबन्दीमा अस्पताल सुरु भएको थियो भने त्यो हालसम्म पनि कायम छ । अस्पताल पछिल्लो समय सबै प्रकारका कर्मचारी गरि ३२ जनाबाट निरन्तर सञ्चालनमा छ । औषधि अभाव र शल्यक्रिया विभागको अभावले चुनौतिहरू थपिएका छन् । निस्शुल्क प्रदान गरिने औषधिका लागि बजेट अभाव रहेको अस्पतालको गुनासो छ । यसका बाबजुद पनि बिरामीहरूलाई गुणस्तरीय सेवा दिन चिकित्सालय कटिवद्ध रहेको चिकित्सकहरु बताउँछन् ।
अत्याधुनिक उपकरण र वैज्ञानिक अध्ययनको प्रयोगमार्फत मौलिक आयुर्वेद चिकित्सा पद्धतिलाई प्रवर्द्धन गर्दै लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीको स्वास्थ्य सेवा क्षेत्रमा अग्रणी संस्था बन्न सफल हुँदै आएको चिकित्सकको दाबी छ। यसको सेवा विस्तार, सामुदायिक संलग्नता र भविष्यका योजनाहरूले यस क्षेत्रका बासिन्दाहरूलाई स्वस्थ र सन्तुलित जीवन बिताउन थप सहयोग पुर्याउने अपेक्षा गरिएको चिकित्सालयका निमित्त कार्यालय प्रमुख गणेश प्रसाद सापकोटाले बताए ।
आयुर्वेदको पञ्चकर्म पद्धतिलाई अघि बढाउन चिकित्सालयले अनुगमन गर्नेगरी रुपन्देहीका ४ पालिकामा आरोग्य केन्द्र सञ्चालनमा छन् । सैनामैना , लुम्बिनी साँस्कृतिक , देवदह नगरपालिका र सियारी गाउँपालिकामा आरोग्य केन्द्र सञ्चालनमा छन् । भने रुपन्देहीका ६ वटा पालिकामा स्थानीय तहले हेर्ने गरि र चिकित्सालयकै अनुगमन हुनेगरी आयुर्वेदिक औषधालय सञ्चालन भैरहेका छन् । तिलोत्तमा नगरपालिका , गैडहवा , मायादेवी , कोटहीमाई , कञ्चन र शुद्धोधन गाउँपालिकामा सञ्चालन भैरहेको कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।
संघीय सरकारले पनि आगामी दिनमा एक पालिका एक आयुर्वेद औषधालयअनुसार अघि बढाउने योजना बनाएको छ ।
यता यस विषयमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले अस्पतालको सेवा अझ प्रभावकारी बनाउन अस्पतालको थप भवन बन्दै गरेको बताए । उनले अस्पतालको सेवा थप प्रभावकारी बनाउन मन्त्रालय लागि परेको र यसका लागि बजेटसमेत विनियोजन गरेको जनाए ।