बुटवल – व्यक्ति स्वस्थ भए मात्रै नगर स्वस्थ हुने भन्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रको विकासमा जोड दिन थालेको छ । योसँगै उपमहानगरपालिकाले पछिल्लो समय नगरका विभिन्न क्षेत्रमा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई अघि बढाएको छ । नगरमा भएका भौतिक विकासलाई मात्रै विकास मान्ने परिपाटीको विकास भैरहेको समयमा मानवीय विकास बिना विकास पूर्ण नहुने भन्दै उपमहानगर मानवीय विकासमा केन्द्रित हुन थालेको हो । यो विषय विभिन्न सभा समारोह र कार्यक्रमहरुमा उपमहानगरका प्रमुख खेलराज पाण्डेले बताउँदै आएका छन् ।
विभिन्न कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकका लागि २०८० माघमा बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु गरेको थियो ।
बुटवल–१२ तामनगर प्रगति टोलकी एक सय १० वर्षीया ऐरावती बरईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो। बरईको घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवर्धक सामग्री दिएर अभियानको सुरुवात गरे । ज्येष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए। नगरप्रमुख पाण्डेले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालेको सो अवसरमा बताएका थिए ।
उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन भएको अभियानमा करिब २६०० ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो । सोही अवसरमै ३०० जनाको भिडियो एक्स रे पनि गरिएको थियो । तामझामका साथ सुरु गरिएको कार्यक्रममा घरघरमा पुगेर गरिएको स्वास्थ्य परीक्षण कार्यक्रमबाट शारीरिक अवस्थाका कारणले अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकको लागि यो निकै प्रभावकारी भएको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँगाउँकी ८७ वर्षिय मुनिकला ज्ञवालीले बताइन् ।
बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिसमेत निःशुल्क दिइएको थियो । ६० वर्षदेखि मथिका सबैलाई शिविरमा र ७० वर्ष देखिका नागरिकलाई घरघरमै पुगेर स्वास्थ परिक्षण गरिएको र यसबाट नगरका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
उपमहानगरले गुणस्तरीय स्वास्थ्य सेवाका लागि ज्येष्ठ नागरिक मात्र नभएर बालबालिका , किशोर किशोरी ,
अपांगता भएका व्यक्ति , सुत्केरी विभिन्न प्रकारका रोगलगायत विभिन्न उमेर समूहका व्यक्तिहरुको स्वास्थ्यप्रति संवेदनशील र सजग भएको छ ।
बुटवल उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन सुरू गरेको थियो । यो कार्यक्रम हालसम्म निरन्तर सञ्चालन भइरहेको छ । उपमहानगरका १९ वटै वडामा रहेका अपाङ्गता भएकाहरूको लगत संकलन गरी उनीहरूको अवस्थाको विश्लेषण गरेर प्राथमिकताका आधारमा घरदैलो अभियान सुरू गरिएको थियो । यसबाट उपमहानगरका १९ वटै वडामा रहेका सबै प्रकारका अपांगता भएका नागरिक लाभान्वित भएका छन् ।
शारिरीकरूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सामान्य स्वास्थ्य समस्या देखिए पनि अस्पतालसम्म लैजान गाह्रो हुने भएपछि परिवारले उनीहरूको स्वास्थ्यप्रति वेवास्ता गर्ने समस्यालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले यो कार्यक्रम सुरु गरेको हो ।
नगरमा हालसम्म करिब १००० को संख्यामा विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरु रहेका छन् । उनीहरुको कार्ड , आवश्यकता र मागका आधारमा उनीहरूलाई विभिन्न प्रकारका सामग्रीहरु प्रदान गरिएको उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बताइन् । उपप्रमुख अर्याल भन्छिन् -” यो कार्यक्रमबाट उपमहानगरका अपांगता भएका नागरिकलाई सहज भएको छ । शारीरिक अवस्थाका कारण अस्पतालसम्म जान नसक्ने उहाँहरुलाई मेरो नेतृत्वमा आवश्यक सामग्री घरदैलोमै पुगेर दिन्छौँ । ” उपप्रमुख अर्यालका अनुसार अपांगता भएका नागरिकका अविभावकहरुका लागि सचेतनामूलक कार्यक्रमसमेत प्रदान गरिएको छ । अब भने उनीहरूका अविभावकका लागि छिट्टै तालिमसमेत दिने उपप्रमुख अर्याल बताउँछिन् । उपमहानगरका १९ वटै वडामा यो कार्यक्रम निरन्तर चलिरहेको छ ।
बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन रगतको अभाव हुन नदिन निस्शुल्क रगत अभियान सञ्चालन गरिएको छ । सबैभन्दा बढी महत्त्वपूर्ण यो रगतलाई बुटवलले निशुल्क उपलब्ध गराउँदै आएको छ । नगरबासीलाई स्वास्थ्य समस्याको कारण रगत तथा रक्तजन्य पदार्थको आवश्यकतालाई उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक बुटवल शाखासँग निशुल्क उपलब्ध गराउन सम्झौता गरि नगरबासीलाई निस् शुल्क रगत उपलब्ध गराएको छ । हालसम्म उपमहानगरले ८ सय ७८ जनालाई नि: शुल्क रगत उपलब्ध गराएको र यसबाट उपमहानगरका बासिन्दा लाभान्वित भएका छन् ।
यसैगरी एच आई भि संक्रमित १८ वर्ष मुनिका बालबालिकालाई पोषण खर्चस्वरुप मासिक रु ३०००/- प्रदान गर्ने महत्त्वपूर्ण काम भएको छ । हालसम्म ४ जना एच आई भि संक्रमित ४ जना बालबालिकाले मासिकरुपमा रकम प्राप्त गरिरहेको नगरको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।
यस्तै नगर प्रमुख स्वास्थ्य शिशु पोषण कार्यक्रमअन्तर्गत मातृ मृत्यु र शिशु मृत्यु दर कम गर्न स्वास्थ्य संस्थामा प्रसुति सेवालाई बढावा दिनका लागि सुत्केरी आमाहरुलाई रु २०००/- रकम सुत्केरीपछि वडा तहबाटै दिने गरिएको छ । यस कार्यक्रमबाट नगरका ७ सय जनाले यो सुविधा पाएको उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ । यो कार्यक्रमले उपमहानगरका आर्थिक अवस्था कमजोर भएका सुत्केरी आमाहरु लाभान्वित भएका छन् ।
वडा नम्बर ११ र १२ का स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । यस्तै गर्भवती आमाको स्वास्थ्य सेवालाई ध्यानमा राखी निरन्तर युसजी सेवा प्रदान गरिएको नगरले जनाएको छ । गर्भवती महिलाहरुलाई नै लक्षित गरि निस्शुल्क प्रयोगशाला सेवासमेत प्रदान गर्ने गरिएको छ ।
बुटवलमा सबैभन्दा बढी प्रभाव पारेको क्षयरोगलाई न्यूनीकरणका लागि क्षयरोग मुक्त पालिका अभियान सुरु गरिएको र यसका लागि विभिन्न कार्यक्रम गरिएको छ । यसका लागि विपन्न तथा अति आवश्यक कुपोषित क्षयरोगका बिरामीहरुलाई पोषण सामग्री वितरण गरिएको छ । यस कार्यक्रमबाट हालसम्म ६ सय ६९ जना लाभान्वित भएका छन् ।
यस्तै स्वास्थ्य संस्था दर्ता , नवीकरण , स्तरोन्नतिसम्बन्धि मापदण्ड २०८० बनाएर स्वास्थ्य संस्था दर्ता , नवीकरणको कार्य अगाडि बढिरहेकोले मापदण्ड पुगेका करिब ६० वटा स्वास्थ्य संस्थालाई अनुमती प्रमाणपत्र प्रदान गरिएको छ । यसबाट स्वास्थ्य संस्थाहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
यता बाआमासँग नगर प्रमुख स्वास्थ्य परिक्षण उपचार कार्यक्रममार्फत बुटवल उपमहानगरपालिकाका करिब २६०० जना ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
बुटवल उपमहानगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरेको छ । सहरी स्वास्थ्य केन्द्र ३ लाई किशोर किशोरीमैत्री स्वास्थ्य प्रमाणीकरण गरिएको विपन्न नागरिकलाई सिफारिस हुने दीर्घ रोग भएका बिरामीलाई रु १७००० रकम भुक्तानी दिने गरिएको छ ।
बुटवल उपमहानगरपालिकाअन्तर्गत नगरका स्वास्थ्य केन्द्रहरु १८ वटा वडामा सञ्चालनमा छन् । पारामेडिक , नर्सिङ , आयुर्वेदिक र ल्याब सेवालगायतका करिब ६५ जना स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा दैनिकरुपमा प्रदान भैरहेको स्वास्थ्य शाखाले जनाएको छ ।
नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरले गर्ने स्वास्थ्यसँग सम्बन्धित सबै कार्यक्रम निरन्तररुपमा भैरहेको जनाए । नगरप्रमुख पाण्डे भन्छिन् -” उपमहानगरका जति पनि महत्त्वपूर्ण कार्यक्रमहरु छन् तिनीहरूका लागि आवश्यक कानून नै बनाएर कार्यक्रम गरिरहेका छौँ । यसबाट उपमहानगरका नागरिकहरु लाभान्वित भएका छन् । “