बुटवल – लुम्बिनी प्रदेशको मुख्य सहर बुटवल, व्यापारिक गतिविधिको मुख्य केन्द्रको रूपमा चिनिन्छ। पछिल्लो समय भने यो सहर पर्यटन गन्तव्यको रूपमा विकास हुँदै गएको छ। बुटवलको ऐतिहासिक तथा पुरातात्त्विक धार्मिक सम्पदा, भौगोलिक बनावट र सुविधाजनक यातायात संरचना , मुख्य व्यापारिक केन्द्रजस्ता विभिन्न विषयले यहाँको पर्यटन सम्भावनालाई उजागर गरिरहेको छ। यसको विकासलाई टेवा पुर्याउन व्यवसायी वर्ग पनि सहकार्यमा जुट्न थालेका छन्। यसका लागि व्यवसायीले स्थानीय तहसँगै सहकार्य गरि विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।
बुटवलका पर्यटकीय क्षेत्रहरु
बुटवल उपमहानगरपालिकाले पछिल्लो केही वर्षदेखि पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको छ। धार्मिक मान्यताको मुख्य केन्द्र बिन्दु बुटवलको सिद्धबाबा मन्दिर , रूपन्देहीको सीमाक्षेत्रमा रहेको नुवाकोट , वसन्तपुर , जितगढी किल्ला , जितगढी र फूलबारीको अवलोकनका लागि करिब ६ सय मिटर लामो सुरूङमार्ग , मणि मुकुन्द सेन उद्यान (फूलबारी ) , रामापिथेकस पार्क , मैनाबगर, तिनाउ किनार, हिलपार्क, बुटवल डाँडाघारी, गुफा र प्राकृतिक दृश्यहरूले पर्यटक तान्न सक्छन् भन्ने विश्वासका साथ स्थानीय सरकारले विभिन्न कामहरू गरेको छ । जसअन्तर्गत ‘एक पर्यटक, दश प्रचारक’ जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।
उपमहानगरपालिकाले पर्यटकलाई आकर्षित गर्ने तिनाउ किनारमा आरती केन्द्रजस्ता महत्त्वपूर्ण क्षेत्र रहेका छन् ।
बुटवललाई धार्मिक, सांस्कृतिक र प्रकृतिमा आधारित घुम्नयोग्य शहरको रूपमा ब्रान्डिङ गर्न व्यवसायीको सहकार्य अपरिहार्य छ। सहरका होटल, ट्राभल एजेन्सी, रेष्टुरेन्ट, तथा स्थानीय हस्तकला व्यवसायीहरू पर्यटन मैत्री वातावरण बनाउन लागि परेका छन्।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही अध्यक्ष हरि अर्याल भन्छन् ( , “व्यवसायीहरूको साझा उद्देश्य बुटवललाई लुम्बिनीको प्रवेशद्वार मात्र नभई छुट्टै गन्तव्यका रूपमा चिनाउनु हो।” पर्यटन क्षेत्रको विकासका लागि पर्याप्त होटलहरु हुनुपर्ने बताउँछन् । उनी भन्छन् ( ू होटलहरु पर्याप्त हुनुपर्यो । त्यसमा पनि उनीहरूले दिने सेवा सुविधा गुणस्तरीय हुनुपर्छ । एकपटक आएका पाहुनालाई पटकपटक आउन खालको वातावरणको सृजना गर्नुपर्छ । ू अर्यालले यसबाहेक तिनै तहका सरकारले गर्ने पूर्वाधार निर्माणका कामलाई समयमै सक्ने र वातावरण स्वच्छ र सफा राख्न सबैले ध्यान दिनुपर्ने उहाँ जोड दिए । अर्यालले यस्तो गर्न सकेमा पर्यटकको संख्यामा वृद्धि हुने र बुटवल बजार चलायमान हुनेमा उनी विश्वास गर्छन् ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ भण्डारीले थुप्रै होटल व्यवसायीले पर्यटकमैत्री प्याकेज योजना ल्याएको बताउँछन् । भण्डारीले विभिन्न समयमा सडक खाना महोत्सव , जातिविशेष साँस्कृतिक कार्यक्रम , जातिविशेष खाना , भैरव नाचजस्ता कार्यक्रमले बुटवलको पर्यटन क्षेत्रको विकासलाई टेवा पुर्याएको बताए । बुटवलको पर्यटन क्षेत्रको विकास गर्न र बुटवललाई चलायमान बनाउन अब कालिका पथको रात्रिकालीन व्यवसायलाई विस्तार गर्न जरुरी रहेको बताउँछन् । उनले रात्रिकालीन बजार खुल्लारुपमा चल्न पाएमा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेमा उनी ढुक्क छन् ।
नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा) लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष रचना पन्तले यसका लागि उपमहानगरले वृहत् योजना बनाउनुपर्ने बताउँछिन् । उनले बुटवल आउने पर्यटकहरुलाई के का लागि बुटवल जाने भन्ने स्पष्ट धारणा बनाउन जरुरी रहेको उनको भनाइ छ । उनी भन्छिन् -“बुटवललाई कि खानामा आकर्षण कि ब्राण्डिङ सपिङको हव बनाउन आवश्यक छ । हिजोका दिनमा बुटवलमा मान्छे यत्तिकै आउँथे । अहिले सबैको दैलोमै सबै कुरा उपलब्ध हुन्छ । त्यसैले अब बुटवलमा किन जाने भन्ने प्रश्नको उत्तर खोज्नु पर्ने हुन्छ ।”
उनले २०७९ असोजमा नजिकैको जितगढी फुलबारी, हिलपार्क आउने पर्यटकलाई लक्षित गरि सन्धाकालिन आरती आयोजना गरिएको बताइन् ।
एशोसियनका लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र थापाले खासगरी बाह्य पर्यटकको लागि भिसा शुल्कलगायतमा छुट दिनुपर्नेमा जोड दिन्छन् । उनले सबैभन्दा पहिले विमान स्थल सञ्चालनमा जोड दिनुपर्ने बताए । साथै विभिन्न पर्यटकीय स्थलहरुको व्यापक प्रचारप्रसारमा ध्यान नदिँदा पर्यटकीय क्षेत्रले फड्को मार्न नसकेको बताउँछन् । उनी भन्छन् -“हामीले केही समयअधि बि टु बि कार्यक्रम गर्यौँ । यस्ता कार्यक्रममा सरकारको उपस्थिति भएमा त्यो विश्वसनीय हुन्छ । हवाई तथा सडक सहज यातायात सञ्जालको व्यवस्था गर्न सके पर्यटकलाई सहज हुन्छ । ” थापाले उपमहानगर पूर्वाधार विकासमा केन्द्रित हुनुपर्ने बताउँछन् ।
ट्राभल एजेन्सीहरूले गाइड तालिम, ट्रेकिङ प्याकेज र साइक्लिङ टुर पनि सुरु गरेका छन्। यिनले स्थानीय अर्थतन्त्रमा नयाँ उत्साह थपेको व्यवसायीहरूको बुझाइ छ।
सरकारको नीतिगत सहयोग र व्यवसायीको लगानीले बुटवलको पर्यटनमा क्रान्तिकारी परिवर्तन सम्भव छ।”
यद्यपि सम्भावना धेरै छन्, बुटवलको पर्यटन विकासमा अझै केही चुनौतीहरू छन्। समुचित सूचना केन्द्रको अभाव, अन्तर्राष्ट्रिय स्तरको प्रचारको कमी, सार्वजनिक स्थलहरूमा स्वच्छता र संरचनागत सुधारको आवश्यकताले पर्यटन प्रवर्द्धनलाई रोकिरहेको छ।
यातायात व्यवस्थापन, सुरक्षित र व्यवस्थित पार्किङ, तथा सडक संकेतहरूको भय पनि त्यसको प्रयोग अभावले समेत पर्यटकलाई असहज पारिरहेको छ। बुटवलमा गाइड सेवा र बहुभाषिक सूचना प्यानलको आवश्यकता पनि व्यवसायीहरूले औंल्याएका छन्।
बुटवल लुम्बिनी र पाल्पाको बीचमा रहेको सुन्दर सहर हो। धार्मिक र सांस्कृतिक दृष्टिले धनी लुम्बिनी र प्राकृतिक तथा ऐतिहासिक दृष्टिले धनी पाल्पा घुम्न आउने पर्यटकहरूका लागि बुटवल “स्टे ओभर” गन्तव्य बन्ने प्रचुर सम्भावना छ।
यदि यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकियो भने, बुटवल पर्यटन, व्यापार र सांस्कृतिक समागमको केन्द्र बन्न सक्छ। यसका लागि सरकारी योजना, निजी क्षेत्रको लगानी, र समुदायको सहभागिता सँगै अघि बढ्न आवश्यक छ।
बुटवलका प्रमुख खेल राज पाण्डेले बुटवलको पर्यटन विकासको क्षेत्रमा धेरै काम गरेको बताउँछन् । उनले यस क्षेत्रमा पर्याप्त मात्रामा काम गर्नै बाँकी रहेको बताए । उनी भन्छन् -“यो क्षेत्र अब केवल सरकारी योजना मात्र नभई, स्थानीय व्यवसायी र समुदायको सक्रिय सहभागितासँग जोडिएको विषय हो। सहकार्य र साझा लगानीको भावना बलियो बनाउँदै लान सकियो भने, बुटवल नेपालको प्रमुख पर्यटन सहर बन्ने सम्भावना टाढा छैन् । “प्रमुख पाण्डेले यसमा हरेक क्षेत्रका व्यवसायी र स्थानीयले समेत चासो दिन जरुरी रहेको बताए ।