काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रतिनिधिसभाअन्तर्गतका विषयगत र संयुक्त गरी ११ वटा समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
आज बसेको रास्वपा संसदीय दलको बैठकबाट उम्मेदवार छनोट भएपछि सांसदले प्रतिनिधिसभाका नौ वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा उम्मेदवारी दिएका हुन् ।
रास्वपाले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने निर्णय छ ।
रास्वपाको तर्फबाट कानून, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीले उम्मेदवारी दिनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा सुम्नीमा उदासले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रतिनिधि र राष्ट्रियसभाअन्तर्गतको संयुक्त समिति, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । यस्तै अर्को संयुक्त समिति, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्कीले मनोनयन दर्ता गराउनुभएको छ ।
यसैबीच प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
संयुक्त समिति र प्रतिनिधिसभाको विषयगत समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले पनि उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एमालेबाट गुरु बरालले मनोनयन दर्ता गराउनुभएको छ । सङ्घीय संसद्को संयुक्त समिति, राज्यका निर्देशक सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपाबाट मदनकुमारी साहले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
संसदीय समितिका सभापतिका लागि भोलि शुक्रवार चुनाव हुँदैछ ।