काठमाण्डौ – सरकारले राष्ट्रिय पञ्जीकरणका सूचना पनि नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइको छ ।
जन्म दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया शुरू गरेको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिनुभयो । उहाँकाअनुसार केही समयमै तथ्याङ्क एकीकरण सकेर जन्म दर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुनेछन् ।
पछिल्लो समय सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिइरहेको छ । जसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्शन सर्टिफिकेट’ नागरिक एपमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।
नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड गर्न सकिने सुविधा भने सञ्चालनमा आइसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने र ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो ।