रुपन्देही – तिलोत्तमा नगरपालिका वाड नम्बर ६ कि अमृता खत्रीले गत माघ २५ गते बच्चा जन्माइन् । ३२ वर्षिय अमृता तिलोत्तमा नगरपालिकाको वाड नम्बर ६ मा रहेको आनन्दवन स्वास्थ्य चौकी रवर्थिङ सेन्टरमा गर्भ चेकजाँचका लागि २ पटक पुगेकी थिइन् ।
गर्भवती भएको सात महिनामा उनलाई थाइराइडको समस्या देखा पर्यो । त्यसपछि उनी लुम्बिनी प्रदेशिक अस्पतालमा चेकजाँचका लागि जानु परेको थियो । उनी भन्छिन् – सार्वजनिक यातायातको सुविधा नभएकोले अटो रिक्सा रिजर्भ गरेर जाने गर्थे । अर्को कुरा भिडियो एक्स रे पनि पर्याप्त सुविधा भएन । अमृताले यो पटक तेस्रो बच्चा जन्माएकी थिइन् । अमृता भन्छिन् – ” हेल्थ पोष्ट भनेको हेल्थ पोष्ट नै हो । फेरि मलाई थाइराइडको समस्या देखियो । त्यसैले म सुविधासम्पन्न अस्पताल जानुपर्ने बाध्यता भयो । ”
यता तिलोत्तमा ६ कै ३१ वर्षकी निशा थापाले गत कार्तिक १६ गते बच्चा जन्माइन् । गर्भवतीको समयमा चेकजाँचका लागि हरेक महिनामा स्वास्थ्य संस्था पुग्ने गरेकी उनी बच्चा जन्मिँदा भने लुम्बिनी प्रादेशिक अस्पताल नै पु्ग्नुपर्यो । पहिलो बच्चा सोही वर्थिङ सेन्टरमै जन्माएकी उनलाई यसपटक भने त्यहाँको विश्वास लागेन । वर्थिङ सेन्टरका स्वास्थ्यकर्मीले बच्चा जन्मिने दिएको समय फरकफरक भयो । निशा भन्छिन् -” कहिले एउटा मिति , कहिले अर्को मिति दिनुभयो । त्यसैले विश्वास लागेन । त्यसपछि म प्रादेशिक अस्पताल नै जानुपर्ने बाध्यता भयो । तर वर्थिङ सेन्टरले दिएको समय र अस्पतालले दिएको समय उस्तै नै भयो । बच्चा जन्मिने समय फरक पर्दा म अस्पताल नै पुग्नुपर्ने बाध्यता भयो ।”
यस्तै तिलोत्तमा ६ कै ३१ वर्षकी शर्मिला परियारले यहि चैत १४ गते बच्चा जन्माइन् । वर्थिङ सेन्टरनजिकै घर भएकाले उनी गर्भ चेकजाँचका लागि गइरहे पनि अन्तिममा सुविधासम्पन्न अस्पतालमा नै जानु पर्यो । कारण उनको बच्चाको तौल धेरै थियो । स्वास्थ्य संस्थाभन्दा बाहिर भिडियो एक्स रे गराएकी शर्मिला घरको नजिक भएकाले सो स्वास्थ्य चौकी गएको तर बच्चा जन्माउन भने अस्पताल नै पुग्नु पर्यो ।
यी उदाहरण मात्रै हुन् । स्थानीय तहका वर्थिङ सेन्टरमा गर्भवती महिलाहरु र उनका परिवारको विश्वास कम छ । त्यसैले सुरु(सुरुका महिनामा स्वास्थ्य संस्था पुगेपनि पछि क्रमश अस्पतालतर्फ सरुवा हुन बाध्य हुन्छन् ।
वर्थिङ सेन्टरका समस्याहरु –
तिलोत्तमा नगरपालिका :
तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मा रहेको आनन्दवन स्वास्थ्य संस्था बाक्लो बस्तीभन्दा टाढा र पछाडि छ । सार्वजनिक यातायातको अभावले कैयौं गर्भवती महिला त्यहाँ जान खोज्दैनन् । अर्को कुरा त्यहाँ विभिन्न उपकरणको अभाव छ । भौतिक संरचनाको कमी , पर्याप्त मात्रामा उपकरण नहुनु पनि सेन्टरका लागि बाधक बनेको छ । अर्को कुरा आसपासमा सुविधा सम्पन्न निजी अस्पताल ओम महिला तथा बाल अस्पताल भएका कारण पनि धेरै गर्भवती महिला उतै ओम अस्पताल पुग्छन् भने कतिपय बुटवलमा रहेको लुम्बिनी प्रदेशिक अस्पताल पुग्छन् । आनन्दवन स्वास्थ्य चौकीका वर्थिङ विभाग प्रमुख शारदा खनालले स्वास्थ्य संस्था बस्तीभन्दा टाढा भएकाले गर्भवती महिलाहरु आउनै कठिन भएको बताइन् ।
स्वास्थ्य संस्थामा सुत्केरीको लागि शौचालयको अभाव , बिरामीको कुरुवाको लागि छुट्टै वेटिङ रुम नहुँदा पनि स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्यामा कमी आएको वर्थिङ विभाग प्रमुख खनालले बताइन् ।
आनन्दवन स्वास्थ्य चौकीमा आर्थिक वर्ष ०७८/७९ मा स्वास्थ्य संस्थामा ५९ जनाले सुत्केरी सेवा लिएका छन् । त्यस्तै आर्थिक वर्ष ०७९र८० मा ५४ जना र आर्थिक वर्ष ०८०र८१ को हालसम्म ४० जनाले सुत्केरीले सेवा लिएको संस्थाका इन्चार्ज राम प्रसाद चुँदाली शर्माले जानकारी दिए ।
तिलोत्तमाकै स्तरीय र नगर अस्पताल बनाउने गरी नगरपालिकाको वडा नम्बर ६ सालघारीमा रहेको आनन्दवन स्वास्थ्यचौकी १५ शैया क्षमता रहने गरी अस्पताल बनाउने योजना थियो । २०७६ सालबाट यो योजना अघि सरे पनि हालसम्म भने निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । नगरले प्रदान गर्ने युएसजि र एम्बुलेन्स सेवा अन्यत्रको तुलनामा तिलोत्तमाले निशुल्क गरेको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले दावी गर्छन् ।
त्यस्तै तिलोत्तमाकै वडा नम्बर १० सेमरामा अर्को वर्थिङ सेन्टर छ । सो वर्थिङ सेन्टर सन २०२२ मा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निक सायमन्स इन्सिट्युटको ११ औँ समारोहमा देशभरिबाट पाँचौँ स्थान प्राप्त गरेको थियो । स्थानीय तहका अन्य वर्थिङ सेन्टरभन्दा सेवा सुविधामा उत्कृष्ट रहेपनि जन विश्वास भने घट्दो रहेको सेमरा बजार स्वास्थ्य संस्थाका इन्चार्ज कमल पाण्डेले बताए । विगत ५र७ वर्षअगाडिको तथ्यांक र हालको तथ्यांकमा सन्तुष्ट हुने अवस्था नरहेको र सेवाग्राहीको संख्या घट्दो क्रममा रहेको इन्चार्ज पाण्डेको गुनासो छ । विशेषज्ञ सेवा नहुनु , मंगलापुर कान्छीबजार सडक समयमा नबन्नु र सहज यातायातको सुविधा नहुनु , सेवाग्राहीको विशिष्टिकृत सेवाको चाहाना हुनुजस्ता कारण वर्षेनी सेवाग्राहीको संख्या घट्ने क्रममा रहेको स्वास्थ्य चौकी इन्चार्ज पाण्डे स्वीकार्छन् ।
कञ्चन गाउँपालिका :
कञ्चन गाउँपालिकामा दुईवटा वर्थिङ सेन्टर छन् । पहिले वडा नम्बर ४ मा मात्रै वर्थिङ सेन्टर थियो भने गत आर्थिक वर्षबाट पालिकाको वडा नम्बर २ मा समेत थपिएको छ । पालिकामा रहेका दुबै वर्थिङ सेन्टरमा विभिन्न सेवा सुविधाको कमी छ । त्यहाँ डेलिभरी गराउने कोठामा मात्रै वातानुकूलित (एसी) जडान छ । सुत्केरी भैसकेपछि सुत्केरीलाई सारेर राख्ने कोठाबाहेक बिरामीका कुरुवालाई बस्नको लागि छुट्टै व्यवस्थित ठाउँसम्म छैनन् । त्यसैगरी बिरामीका कुरुवाहरुका लागि भोक लाग्दा खाजा खाने पसल न स्वास्थ्य संस्थाले राखेको छ न त नजिकमा व्यक्तिगत पसल नै छन् । त्यसतै गर्भवतीहरुका लागि अति आवश्यक युएसजि भिडियो एक्स रे वडा नम्बर ४ को वर्थिङ सेन्टरमा मात्र छ । त्यसैलाई नै अर्को स्वास्थ्य संस्थामा लैजाने गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम बताउँछन् । स्वास्थ्य संस्थामा अति आवश्यक पर्ने एम्बुलेन्स सेवा वडा नम्बर २ मा छैन् । यता वडा नम्बर ४ को स्वास्थ्य संस्थामा भने सहिद स्मृति प्रतिष्ठानको नाममा रहेको एम्बुलेन्स सञ्चालनमा छ । तर चालकले निजीरुपमा आफैले तोकेको मूल्यमा गर्भवती ओसारपसार गरिरहेको प्रमुखको भनाइ छ । यता वडा नम्बर २ का बिरामीहरु आफैले सवारीसाधनको व्यवस्था गरी त्यहाँ पुग्ने गर्छन् । स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने घरमा शुन्य डेलिभरी सरकारको अभियान छ । तर गर्भवती हुँदा मासिकरुपमा गर्भ जाँच गराउनेहरु सुत्केरी हुने बेला भने उनीहरू आफूलाई पाएक पर्ने अस्पतालमा जानुपर्ने बाध्यता छ । आर्थिक अवस्था बलियो भएका बिरामीहरु भने आफ्नो स्वस् इच्छाले सुविधासम्पन्न अस्पतालमा जाने गरेका छन् । यहाँ रहेका स्वास्थ्य संस्थामा बिजुली गएको समयमा समेत समस्या हुन्छ । पालिकाको वडा नम्बर ४ मा रहेको स्वास्थ्य संस्थामा गत आर्थिक वर्षमा ११८ जना सुत्केरी भएका थिए भने यस आर्थिक वर्षमा हालसम्म १२८ जना सुत्केरी भएको संस्थाले जनाएको छ । यता वडा नम्बर २ मा गत आर्थिक वर्षबाट वर्थिङ सेन्टर सञ्चालन भएको र ७१ जना सुत्केरी भएको संस्थाले जनाएको छ ।
देवदह नगरपालिका :
यता देवदह नगरपालिकामा तिन वर्थिङ सेन्टर छन् । देवदह , सिक्टहन र केरबानी वर्थिङ सेन्टर हुन् । यहाँ रहेका वर्थिङ सेन्टरमा पनि अन्य पालिकामा रहेका वर्थिङ सेन्टरमा जस्तै विविध समस्या छन् । देवदह नगरपालिकाका मेडिकल अधिकृत डाक्टर संज्ञा सेनले नगरका वर्थिङ सेन्टरमा विभिन्न समस्या झेल्नुपरेको बताउँछिन् । उनी भन्छिन् -” यहाँ दक्ष जनशक्तिको कमी छ । नेपाल सरकारले उपलब्ध गराउने युएसजि भिडियो एक्सरे सेवा उच्चस्तरीय छैन् । ”
यहाँका वर्थिङ सेन्टरमा पनि दुईचार पटक गर्भ जाँच गराउने तर सुत्केरी हुने समयमा भने अन्य सुविधासम्पन्न अस्पतालमा पुग्छन् । डाक्टरका लागि चाहिने ६ महिने र स्वास्थ्यकर्मीका लागि चाहिने तीन महिने एसबिए तालिमको पनि उपलब्धता छैन् । स्थानीय तहका वर्थिङ सेन्टरमा सुत्केरी आमाको लागि मात्र सोँचिन्छ । जन्मिएको नवजात शिशु राख्ने आइसियु सेवा उपलब्ध छैन् । जुन कारण स्थानीय वर्थिङ सेन्टरको विश्वासमा आशंका छ । मेडिकल अधिकृत सेन भन्छिन् -” हामीले बिरामीको ईच्छा र अधिकारलाई नै पहिलो प्राथमिकता दिन्छौँ । गर्भवती महिलाको प्रसुति अवस्थापछि पनि उहाँहरुको अवस्था बुझ्न हामीले उहाँहरूलाई घरमै भेट्न जान्छौँ । ” यी सबै काम न्यून पारिश्रमिकमा गर्नुपर्दा त्यसले स्वास्थ्यकर्मीलाई प्रत्यक्ष प्रभाव पार्छ । त्यसकारण सबैले बिरामीप्रति राम्रो व्यवहार नगर्न सक्छन् । अर्को कुरा बिरामीले स्वास्थ्यकर्मीप्रति राम्रो व्यवहार गर्न जरुरी भएको डाक्टर सेनको भनाइ छ । यसैले पनि बिरामीको सोँच परिवर्तन गर्न सक्छ ।
नगर गत वर्ष पूर्ण संस्थागत प्रसुति नगरपालिका घोषित भैसकेको छ । अधिकृत सेनले वर्थिङ सेन्टरहरु अब ३/४ जनाले मात्रै चल्न नसक्ने बताउँछिन् । यसका लागि सरकारले दीर्घकालीन सोँच र योजना बनाउन जरुरी रहेको उनको भनाइ छ । सेनका अनुसार देवदह वर्थिङ सेन्टरबाट गत आर्थिक वर्षमा १२४ जनाले प्रसुति सेवा लिएका थिए भने हालको आर्थिक वर्षमा हालसम्म ९० जनाले प्रसुति सेवा लिएका छन् ।
बुटवल उपमहानगरपालिका :
यता हरेक दृष्टिकोणले सुविधासम्पन्न बुटवल उपमहानगरपालिकामा बुटवल प्रादेशिक अस्पताल , आम्दा महिला तथा बाल अस्पताल र बुटवल १४ तामनगरमा रहेको वर्थिङ सेन्टर गरि तीन वर्थिङ सेन्टर छन् । तर तामनगरको वर्थिङ सेन्टरभन्दा बुटवल प्रादेशिक र आम्दा अस्पतालमा आमाहरु बढी विश्वास गर्छन् । त्यसैले तामनगर छोडेर सिधै बुटवल र आम्दामै गर्भवती र उनीहरुका परिवार सोझिने गरेको जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले स्वीकार्छन् । ग्रामीण क्षेत्रमा रहेको तामनगर वर्थिङ सेन्टरमा गर्भवतीको विश्वास कम छ । नगरले आफैले एम्बुलेन्स सेवा प्रदान गर्न नसकेको शाखा प्रमुख पाण्डेले बताए । बिरामीको आकर्षणका लागि बेबी वार्मर खरिद प्रक्रिया अघि बढाइएको छ । तर यसबारे बुझाउन सकिएको छैन् । सामान्य प्रसुतिको अवस्थामा पनि गर्भवतीहरु सुविधासम्पन्न अस्पतालमै जाने परिपार्टीले एकातर्फ सुनसान हुने तर अर्कोतर्फ थामिनसक्नु भिड हुँदा समस्या हुने पाण्डेको भनाइ छ ।