तिलोत्तमा – २०७९ चैत १ गतेबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।
नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण गर्ने सम्बन्धि कार्यविधि २०७९ भनि कार्यविधि पनि बनायो । सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र शहरी सौन्दर्यमा समेत गम्भीर असर पर्ने देखिएको उल्लेख गरिएको छ ।
गुट्खाजन्य पदार्थको बिक्रीवितरण कार्यको अनुगमनको लागि सो कार्यविधिको दफा ६ को उपदफा १ मा नगरस्तरीय अनुगमन समितिमा नगर उपप्रमुख संयोजक रहनेगरी आर्थिक विकास समिति संयोजक, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक , राजश्व शाखा संयोजक , नेपाल प्रहरीको स्थानीय प्रमुख , उद्योग वाणिज्य संघको प्रतिनिधि , चेम्बर अफ कमर्शको प्रतिनिधि , उद्योग व्यापार संगठनको प्रतिनिधि र नगर प्रहरी इन्चार्ज सदस्य रहेको अनुगमन समिति रहने भनी उल्लेख छ ।
यसैगरी दफा ७ को उप दफा १ मा टोलस्तरीय अनुगमन समिति वडा अध्यक्ष संयोजक रहने गरी वडा अध्यक्षले तोकेको वडा सदस्य मध्यबाट एकजना वडा सदस्य , टोल विकास सञ्जालको अध्यक्ष , वडा बाल सञ्जाल प्रतिनिधि , क्लव संघ संस्था आमा समूह मध्यबाट तीन जना , स्वास्थ्य संस्थाबाट दुई जना , नेपाल प्रहरीको स्थानीय प्रमुख प्रतिनिधि र वडा सचिव रहने भनी उल्लेख गरिएको छ ।
सो कार्यविधिको दफा ४ को उपदफा १ मा जरिवानासमेत तोकिएको छ । पहिलो पटक गुट्खाजन्य पदार्थको बिक्रीवितरण गरेको भेटिएमा डिलरको लागि रू १०००० अन्य व्यवसायीका लागि रू १५०० जरिवाना तोकिएको छ । त्यस्तै दोस्रो पटक डिलरको लागि रू २०००० अन्य व्यवसायीका लागि रू २००० रकम जरिवाना तोकिएको छ भने तेस्रो पटक पनि भेटिएमा डिलरका लागि रू ५०००० र अन्य व्यवसायीका लागि रू ५०००० रकम जरिवाना तोकिएको सो कार्यविधिमा उल्लेख छ ।
तर पछिल्लो समय तिलोत्तमा नगरपालिकामा गुट्खाजन्य पदार्थको बिक्रीवितरण खुल्लारुपमा हुँदै आएको स्थानीय बताउँछन् । भने सो बिक्रीवितरण गर्नेलाई जरिवाना पनि कार्यविधिमा मात्र सिमित भएको उनीहरूको गुनासो छ । जरिवानाभन्दा पनि सचेत गराउने कार्यले व्यवसायीहरुमा अटेरीपन रहेको छ । शरीरलाई दीर्घकालीनरुपमा असर गर्ने यस्ता चिज विशेषगरी किराना पसलहरुमा लुकाएर राखेको अवस्थामा प्रशस्तै भेटिन्छ ।
नगरका हरेक वडाका व्यक्तिहरु गुट्खाजन्य पदार्थ विशेषगरी (भोला ) प्रयोग गर्छन् । उनीहरू लुकिछिपी किन्ने र प्रयोग गर्ने गर्छन् । अझ अर्को विडम्बनापूर्ण कुरा के छ भने भोला प्रयोग गरेपश्चात जहाँ पायो त्यहाँ थुक्दा वातावरणसमेत फोहर र कुरुप हुने गरेको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का स्थानीय सन्तोष अर्यालले बताए ।
तिलोत्तमा १ शिवचोक टोल विकास संस्थाका अध्यक्ष तुलसी न्यौपानेले अन्य पालिकामा सजिलै पाइने भएकाले भोला खाने , जथाभावी फाल्ने र जथाभावी थुक्ने क्रममा कमी आउन नसकेको उनले बताइन् । टोल विकास अध्यक्ष न्यौपानेले सफा र स्वच्छ तिलोत्तमा नगरपालिका भोलाको प्रयोग र जथाभावी थुक्दा त्यसको औचित्यमाथि प्रश्न उठेको र यसले सबैलाई लज्जित बनाएको बताइन् ।
यतिसम्म कि कार्यविधिको दफा ७ को उप दफा १ मा टोलस्तरीय अनुगमन समितिमा वडा अध्यक्ष संयोजक रहनेगरी व्यवस्था गरेको छ । तर तिलोत्तमा नगरपालिकाका कतिपय वडा अध्यक्ष आफैले गुट्खाजन्य पदार्थको सेवन गर्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले बताए । यसरी वडा अध्यक्षले यसको प्रयोग गरिरहँदा वडास्तरीय अनुगमन कत्तिको प्रभावकारी होला त ? नगरभित्र गम्भीर प्रश्न उठ्ने गरेको छ ।
वडा नम्बर १ का वाड सञ्जाल अध्यक्ष डिल्लीराम कडेलले भव्य कार्यक्रमका बिच घोषणा गरे तापनि अनुगमनमा एकपटक पनि सहभागी नगराएको गुनासो गरे ।
नगरले घोषणा गरे पनि बिक्रीवितरण र सेवनमा कमी नआएको वाड नम्बर १ का वाड अध्यक्ष फर्सुराम गिरीको भनाइ छ ।घोषणाताका अनुगमन अलि भए पनि पछिल्ला दिनमा भने अनुगमन एकदमै पातलोरुपमा भएको वडा अध्यक्ष गिरी स्वीकार्छन । उनी भन्छन् -” रोकमात्र लगाएर नहुने र यसका लागि जनचेतनामूलक कार्यक्रमहरूको पनि आवश्यकता छ ।”
वडा अध्यक्ष गिरीले पछिल्लो समय वडा नम्बर १ को ड्राइभर टोल बजार क्षेत्र र हाटबजार क्षेत्रमा अनुगमन गर्दा सो पदार्थ नगन्य रुपमा बिक्रीवितरण गरेको भेटिएको बताए ।
दफा ७ को उप दफा १ मा टोलस्तरीय अनुगमन समिति वडा अध्यक्ष संयोजक रहनेगरी वडा अध्यक्षले तोकेको वडा सदस्य मध्यबाट एकजना वडा सदस्य , टोल विकास सञ्जालको अध्यक्ष , वडा बाल सञ्जाल प्रतिनिधि , क्लव संघ संस्था आमा समूह मध्यबाट तीन जना , स्वास्थ्य संस्थाबाट दुई जना नेपाल प्रहरीको स्थानीय प्रमुख प्रतिनिधि र वडा सचिव रहने भनी उल्लेख गरिएको भएतापनि यीमध्ये टोल सञ्जाल , क्लव , आमा समूहलगायतलाई अहिलेसम्म अनुगमनमा कुनै पनि जानकारी नभएको कार्यविधिमा तोकिएका अनुगमन समितिका सदस्यहरुको भनाइ छ । तर ” सम्बन्धित टोलमा जाँदा हामी हल्ला नगरी जान्छौँ , दोषी भेट्न गोप्य रुपमा जाने हो । ” वडा अध्यक्ष गिरीले बताए ।
यसैगरी वडा नम्बर १७ का वडा अध्यक्ष दानबहादुर चौधरीले विभिन्न क्षेत्रका व्यक्तिहरुको व्यस्ततालाई बुझ्दै अनुगमन पातलो गरिएको बताउँछन् । उनी भन्छन् -” अनुगमन गर्ने टीममा बाल सञ्जालका विद्यार्थी पनि राख्नु पर्ने हुनाले भनेजस्तो छिटो अनुगमन गर्न सकिएको छैन् । ” सो क्रममा व्यवसायीलाई कारबाही नगरी सचेत मात्र गराएर छोडिएको अध्यक्ष दानबहादुर चौधरीको भनाइ छ ।
यसको बिक्रीवितरण र प्रयोगमा रोक लगाउन भव्य कार्यक्रम नै सञ्चालन गरि घोषणा नै गरेर गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाए पनि सेवन र बिक्रीवितरणमा कमी आएको छैन् । घोषणापछिका केही समय अनुगमन अलि बढी भएको तर यसमा प्रयोग गर्ने र बिक्रीवितरण गर्नेहरु संवेदनशील नभएको नगरका हरियाली प्रवर्द्धन अधिकृत गोरख नाथ खनालले बताए । अधिकृत खनालले लुकिछिपी बेच्ने क्रम नरोकिएको स्वीकार्छन् ।
२०८० वैशाख २ गतेदेखि हालसम्म गुट्खाजन्य पदार्थको बिक्रीवितरण नियन्त्रणमा हालसम्म नगरका १३ भन्दा बढी पसललाई सचेत गराई गुट्खाजन्य पदार्थ जफत गरिएको नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठले बताए । उनले हालसम्म ४१ पसललाई जरिवानासहित जफत गरिएको जानकारी दिए । हालसम्म गुट्खाजन्य पदार्थ जरिवानाबाट रु ८६५०० राजश्व संकलन भएको त्यसैगरी गुट्खाजन्य पदार्थ २०१ पोका, १३५६ पिस जफत गरिएको प्रहरी इन्चार्ज श्रेष्ठले जानकारी दिए।
पछिल्लो समय गत फागुन ७ गते तिलोत्तमाको वडा नम्बर ५ का ५ वटा किराना पसलमा अनुगमन गरिएको थियो । जहाँ अनुगमनका क्रममा ५ पसलमा साढे ७ हजार जरिवाना लिइएको र ५०४ पिस भोला जफत गरिएको नगर प्रहरी जवान विवेक श्रीसले जानकारी दिए । योसँगै जफत पिस संख्या १३५६ पिस पुगेको हो । सो समयमा बाल सञ्जाल सदस्यलाई पनि सहभागी गराइएको प्रहरी जवान श्रीसको भनाइ छ ।
पछिल्लो समय तिलोत्तमा नगरपालिकामा नगर प्रहरी थपिएसँगै गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा नियन्त्रण गर्न निरन्तर खटिने र अझ प्रभावकारीरुपमा अनुगमन गरिने नगर प्रहरी इन्चार्ज श्रेष्ठको प्रतिवद्धता छ ।
तिलोत्तमा नगरपालिकाले भव्यताका साथ गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाए पनि नगरभित्र बेचबिखनमा कमी आउन नसकेको नगरका नगरप्रमुख रामकृष्ण खाँणले समेत स्वीकार्छन् । अर्को कुरा छिमेकी पालिकाहरुमा निर्वाधरुपमा बेचबिखन हुँदा उतैबाट लिएर प्रयोग गर्ने र यो क्रम नरोकिएको उनको भनाइ छ ।
नगर प्रमुख खाँण भन्छन् -” यसलाई पूर्णरूपमा रोक्नको लागि टोल विकास समितिकै व्यक्तिलाई र विद्यार्थीलाई रसीद काट्न लगाउँछौँ । यसो गर्दा यो अवस्थामा धेरै सुधार आउने छ । ” यस विषयमा प्रष्याउँदै प्रमुख खाँणले यसो गर्दा आफ्ना अविभावकले प्रयोग गरेको खण्डमा उनीहरूका बालबालिकाले रसीद काट्ने डरले पनि अविभावकले प्रयोग गर्न छोड्ने र टोल विकास अगाडिका पसलेहरुलाई टोल विकासका सदस्यले जरिवाना रसीद काट्नाले उहाँहरुले बिक्रीवितरण गर्न छोड्ने उनको आशा छ ।
पछिल्लो समय नगरपालिकामा १५ जना नगर प्रहरी थप गरिएसँगै २१ जना नगर प्रहरी भएको र अब भने अनुगमनमा कडाइ गर्ने नगरपालिकाले जनाएको छ ।